बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका ११, जितपुरमा पार्किङ गरिराखिएको कारभित्र एक व्यक्तिको शव फेला परेको छ । बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारमा शनिबार बिहान शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार, मृतकको टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको छ । हालसम्म मृतकको पहिचान खुलेको छैन ।
हत्या भएको आशंका
अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको आशंका गरिएको छ । तर, प्रहरीको तर्फबाट घटना बारे आधिकारिक पुष्टि भएको छैन ।
अनुसन्धान जारी
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरी निरीक्षक श्रेष्ठले घटना बारे थप विवरण संकलन भइरहेको जानकारी दिए ।
स्थानीय त्रसित
कारभित्र शव फेला परेपछि स्थानीयवासी त्रसित भएका छन् । घटनाले आसपासका बासिन्दामा डर उत्पन्न गरेको छ । घटनाको यथार्थ पत्ता लगाउन प्रहरीको टोली क्रियाशील रहेको छ । प्रहरीले मृतकको पहिचान, घटनाको कारण र संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।




