धनुषा । क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाभवाडीमा शुक्रबार बेलुकी मोटरसाइकल र ट्र्याक्टर ट्रालीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
रमदैयाभवाडीबाट जानकी मेडिकल कलेजतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई ना ७ त ६४४९ नम्बरको ट्र्याक्टरको ट्रालीमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया निवासी १८ वर्षीय जय प्रकाश यादव गम्भीर घाइते भएका थिए । उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि मोटरसाइकलमा सवार एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार ट्र्याक्टर चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




