धनुषा । मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखियाले मदिरा सेवनपछि श्रीमतीको हत्या गरी शव लुकाएको घटना सार्वजनिक भएको छ । ४५ वर्षीया रेशमी देवी बिनको शव बुधबार राति घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको थियो ।
मुखियाको शङ्कास्पद व्यवहारपछि उनकी बुहारीले प्रहरीलाई जानकारी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार, मुखियाले सोधपुछका क्रममा घरायसी विवादका कारण मदिरा सेवन गरेर श्रीमतीको हत्या गरेको स्वीकारेका छन् ।
प्रहरीले उनको बयानको आधारमा शव उत्खनन गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ । इन्स्पेक्टर सोनु साहले हत्या घरेलु विवादकै कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




