सर्लाही । सर्लाहीको बलरा नगरपालिका ९ स्थित बीओपी छतौनामा मंगलबार राति यात्रुवाहक बसले किचेर सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) विजयकुमार तुलाधरको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार, राति करिब पौने ९ बजे अनियन्त्रित बस पल्टिएर ड्युटीमा रहेका इन्सपेक्टर तुलाधरलाई किचेको थियो । गम्भीर घाइते भएका तुलाधरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
चिकित्सकले राति करिब पौने १० बजे उनलाई मृत घोषणा गरेका हुन् । घटना बारे विस्तृत अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।




