रौतहट । रौतहट प्रहरीले मंगलबार एकै दिनमा ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटबाट दण्ड जरिवाना तोकिएका तथा लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयन अभियान अन्तर्गत पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूमा सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दाका ६ जना, अभद्र व्यवहारका ६ जना, बोक्सी आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना, गाली बेइज्जतीमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका १ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, पक्राउ परेका सबैलाई मंगलबार नै जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ ।
उनीहरूबाट करिब ६५ हजार रुपैयाँ जरिवाना र ६ महिनाको कैद असुल गर्नुपर्ने देखिएको छ । प्रहरीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन अभियान जारी राखेको जनाएको छ ।




