रौतहट । लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यानसहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
सीमावर्ती बजार बैरगनियाबाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चिनी, मैदा, धनिया, रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिक अप भ्यान प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधबार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए ।
बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी चालक गौर नगरपालिका ८ का दिनेश राउत बरैसमेत आवश्यक कारवाहीको लागि बुधबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले पूर्ण सक्रियता देखाएको छ ।




