रौतहट । रौतहट प्रहरीले १६ वर्षपछि कर्तव्य ज्यान अभियोगमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । २०६५ पुस २४ गते आफ्नै भाइकी श्रीमती (बुहारी) हत्या गरी फरार भएका कटहरिया १ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले २२ वर्षीया शारदा देवीको हत्या गरी बेपत्ता पारेका थिए । तीन दिनपछि शारदाको शव बारीमा गाडिएको अवस्थामा फेला परेको थियो । घटना भएपछि महतो फरार थिए । रौतहट प्रहरीका निरीक्षक उमाशंकर प्रसादका अनुसार घटनामा संलग्न महतोलाई हालै पक्राउ गरिएको हो ।
प्रहरीले जिल्ला अदालत रौतहटबाट म्याद लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । १६ वर्षपछि पक्राउ परेका अभियुक्तसँगको अनुसन्धानपछि घटनाको अन्य पक्ष बारे थप तथ्यहरू खुल्न सक्ने प्रहरीले जनाएको छ ।




