रौतहट । आफ्नै बुहारीको हत्या गरी फरार रहेकी ६२ वर्षीया सायरा खातुनलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो. इन्ताज चुडिहारकी श्रीमती २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोचेर हत्या गरेकी थिइन् । घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन् ।
प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले खातुनलाई पुस २६ गते गढीमाई नगरपालिका-२ समनपुरबाट पक्राउ गरेको हो ।
पक्राउपछि खातुनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनाले चार वर्षपछि न्यायिक प्रक्रिया अघि बढ्ने संकेत देखाएको छ ।




