धनुषा । धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीचमा आइतबार साँझ भएको कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का व्यक्ति गम्भीर घाइते भएका छन् ।
वीरेन्द्र बजार–महिनाथपुर सडकखण्डमा उत्तरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ८२२९ नम्बरको कार र दक्षिणतर्फ जाँदै गरेको ज ११ प ७७९६ नम्बरको एफजेड मोटरसाइकल एकापसमा ठोक्किएपछि दुर्घटना भएको थियो ।
मोटरसाइकलले कारको दाहिने भागमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अमनकुमार साह र आकाशकुमार जयसवाल गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । चिकित्सकले अमनकुमार साहलाई मृत घोषणा गरेका छन् भने गम्भीर घाइते आकाशकुमार जयसवालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक दीपक क्षेत्रीका अनुसार दुर्घटनामा संलग्न कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




