सर्लाही । सर्लाहीको बागमती नगरपालिका ५ रेङ्बा टोल पुछरस्थित सडकमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा चालक यज्ञ गौतमको मृत्यु भएको छ । बा प्र ०२-०२८ प ७५९७ नम्बरको मोटरसाइकल पुतलीचोकबाट सोल्टीतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका बागमती नगरपालिका १० सोल्टीका २५ वर्षीय चालक गौतमको नवजिवन अस्पताल बरहथवा हुँदै प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्को व्यक्ति पनि घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि स्वाभिमान अस्पताल हरिवन पठाइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।




