वीरगंज । पटेर्वासुगौली गाउँपालिका ४, करबोलाचोक नजिक मंगलबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ना २८ प ३८१९ नम्बरको मोटरसाइकल पथरैयाबाट श्रीपुर पंचगावाँ जाँदै गर्दा कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय दीपेन्द्र राय थारू र पछाडि सवार २३ वर्षीय सुदर्शन चौधरी घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारका लागि न्यूरो अस्पताल पठाइएकोमा उपचारको क्रममा सुदर्शन चौधरीको मृत्यु भएको अस्पतालले जनाएको छ । मोटरसाइकल चालक दीपेन्द्र राय थारूको अवस्था गम्भीर रहेको छ ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक वीरबहादुर साहका अनुसार घटना बारे अनुसन्धान भइरहेको छ । कल्भर्ट निर्माणका क्रममा सुरक्षाको मापदण्ड पूरा नगर्दा यस्तो दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय बासिन्दाले सडक निर्माण कार्यमा लापरबाही भएको भन्दै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।




