गौर । सशस्त्र प्रहरीले रौतहटमा अवैध हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार राति भारतको बिहार पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ निवासी २६ वर्षीय धनञ्जय कुमार झा पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल नम्बर ११ गण हेडक्वार्टर रौतहटका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले झासँग सेमी अटोमेटिक कटुवा पेस्तोल, त्यसको म्यागेजिन १ थान र ७.६५ एमएमका ४ राउण्ड गोली बरामद गरिएको जानकारी दिए ।
सुनिल होटलमा चेकजाँच गर्दा पक्राउ
ईशनाथ नगरपालिका ४ लतमरी नाकास्थित सुनिल होटलमा खाजा खाइरहेका झालाई सशस्त्र प्रहरीले शङ्कास्पद देखी चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् । त्यही क्रममा साथमा रहेका अन्य दुई व्यक्ति भने फरार भएका छन् ।
पक्राउ परेका झासँगै सशस्त्र प्रहरीले बीआर ०५ बीडी १२२४ नम्बरको अपाचे मोटरसाइकल र सामसङ कम्पनीको ए ३५ मोडेलको मोबाइल फोन पनि बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले उक्त कारबाही गरेको हो ।
फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको र पक्राउ परेका झामाथि कानूनी प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरी उपरीक्षक हुमागाईँले जानकारी दिएका छन् । सीमावर्ती क्षेत्रका होटल तथा सार्वजनिक स्थानमा सुरक्षा सतर्कता बढाउन प्रहरीले अपिल गरेको छ ।




