सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका १७ भन्सार गेट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले करिब ५ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित गोलबजार नगरपालिका ७ का २५ वर्षीय हृदय सिंह र गोलबजार नगरपालिका ८ का २२ वर्षीय धर्मेन्द्र यादवलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिराहाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेको छ । साथै, घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ । लागूऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको भएपनि सीमा क्षेत्रको दुरुपयोग भइरहँदा यस प्रकारका घटनामा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेका छन् ।




