बारा । बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ६ लौकाहास्थित सडकमा आइतबार बिहान भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा परी भारत राज्य बिहार बैरगनिया बस्ने २५ वर्षीय साहेब पण्डित गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् ।
घाइतेको वीरगंजस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने पिकअप र त्यसका चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




