बारा । बारामा आइतबार राति मोटरसाइकल दुर्घटना भएको छ । आइतबार राति भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कलैया उप-महानगरपालिका ४ स्थित कलैयाबाट बरियारपुरतर्फ जाँदै गरेको ना ४ ख ४१८६ नम्बरको ट्याङ्करले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रौतहटको बृन्दावन नगरपालिका ३ विश्रामपुरकी ४० वर्षीया बबिता ठाकुर गम्भीर घाइते भइन् ।
उनलाई परवानिपुर नौतनस्थित एलएस न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । यसै दुर्घटनामा बबिता ठाकुरकी १० वर्षीया छोरी मोनि ठाकुर घाइते भएकी छन् ।
यस्तै राति १० बजे आदर्श कोतवाल गाउँपालिका ४ मा बिआर एजे ३५२७ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ००३-००१-च ६७८८ नम्बरको पिकअपले ठक्कर दिएको छ ।
पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालक २५ वर्षीय आदित्य कुमार ठाकुरको मृत्यु भएको छ । उनी भारत बिहार बैरगनियाका बासिन्दा हुन् । घटनापछि उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रौतहटको गौर नगरपालिका १ का २२ वर्षीय राजन दास घाइते भएका छन् । प्रहरीले ठक्कर दिने पिकअप गाडीको खोजी कार्य जारी रहेको डिएसपी सापकोटाले बताए ।




