रौतहट । स्रोत नखुलेको १६ लाख ४९ हजार २०० रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाईंका अनुसार पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का शिवमंगल साह र प्रवेज आलम रहेका छन् ।
उनीहरूलाई रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियाबाट सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ठूलो रकम फेला परेपछि नियन्त्रणमा लिइएको एसपी हुमागाईंले जानकारी दिए ।
पक्राउ परेका साह र आलमलाई बरामद रकम तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




