सिरहा । पछिल्लो समय राष्ट्रिय गौरव योजनाको नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी आवादी जग्गाबाट अनियन्त्रित रूपमा ग्राभेल उत्खनन् गरी सडक निर्माण भइरहेको पाइएको छ ।
ठेकेदार कम्पनीहरूले स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि, वनका कर्मचारी तथा सामुदायिक वनका अध्यक्षलाई आर्थिक प्रभावमा पारेर आवश्यक सामग्री, जस्तै माटो, ग्राभेल र वालुवा, नजिकैको चुरे क्षेत्र मासेर भए पनि सडक निर्माण गरिरहेका छन् ।
अनियन्त्रित उत्खननको उदाहरण
गोलबजार नगरपालिका ७ चोहर्वा बजारदेखि वडा नम्बर १० ध्रमपुर घुर्मीघाटसम्म भइरहेको सडक निर्माणका लागि चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट नै ग्राभेल उत्खनन भइरहेको स्थानीयले बताएका छन् ।
उनीहरूका अनुसार वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ, वन कर्मचारी तथा प्रहरी प्रशासनको मिलेमत्तोमा उत्खनन भइरहेको छ । स्थानीयहरूका अनुसार, “रातको समयमा वनभित्रै स्काभेटर लगेर सालको रुख ढाल्दै ग्राभेल उत्खनन गरी टिफरमा ओसार्ने गरिएको छ ।”
नियामक निकायहरूलाई यस बारे थाहा भएपनि कसैले चुइँक बोल्दैनन् । वन उपभोक्ता समूहका अध्यक्ष देवकुमार तामाङ त झन् आफ्नै निगरानीमा चुरे उत्खनन गराइरहेका छन् ।
सालको रुखसमेत तस्करी
उत्खननका क्रममा ढलेका सालका रुखहरू समेत टिफरमा लोड गरी स्थानीय स-मिलहरूमा बिक्री गरिएको छ । वनका कर्मचारीलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएको स्थानीयहरूको आरोप छ ।
स्थानीय प्रमोद कुमार सिंह भन्छन्, “उपभोक्ता समूहका अध्यक्ष तामाङले आफ्नै निजी जग्गाबाट करिब १०० टिपर माटो तथा ग्राभेल दिएका छन् । वनका कर्मचारी तथा जनप्रतिनिधिलाई पनि यस बारे जानकारी छ, तर कसैले पनि उत्खनन रोक्न अग्रसरता देखाएका छैनन् ।”
उनले थपे, “हामीले पटक–पटक वनका कर्मचारी, सामुदायिक वनका अध्यक्ष, प्रहरी तथा जनप्रतिनिधिहरूलाई जानकारी गराउँदा पनि कसैले वास्ता गरेन ।”
स्थानीय त्रसित, उजुरी दर्ता
जिम्मेवार निकायहरू उत्खननकर्ताको पक्षपोषणमा लाग्दा प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले स्थानीयहरू त्रसित छन् । चुरे दोहन बन्द गर्न तथा उत्खनन गराउने सामुदायिक वनका अध्यक्ष देवकुमार तामाङलाई कारबाही गर्न वडा नम्बर १० को वडा कार्यालयमा स्थानीयहरूले सामूहिक उजुरी दिएका छन् ।
वडा अध्यक्ष उपेन्द्र मुखियाका अनुसार, “स्थानीयहरूलाई डराई धम्क्याई वन मासेर ग्राभेल उत्खनन गरिएको स्थलगत अनुगमनका क्रममा देखिएको छ । यो वडावासीका लागि अत्यन्त गम्भीर विषय हो । स्थानीयको निवेदनका आधारमा सम्बन्धित निकायलाई दोषी उपर छानबिन गरी कडा कारबाही गर्न पत्र पठाइएको छ ।”
वन उपभोक्ता समितिको संलग्नता
संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी नै उत्खनन गराउन सक्रिय रहेको स्थानीयको आरोप छ । चुरे चौफाल सातपत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङसँग उत्खननबारे सोध्दा उनले प्रारम्भमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
तर पछि उनले भने, “त्यो त निजी जग्गा हो । मैले पनि यो सडक निर्माणका लागि सयौँ टिपर माटो तथा ग्राभेल दिएको छु ।” उनले रातभर वन तथा खोलाबाट उत्खनन भइरहेको स्वीकारे ।
उनले थपे, “रात परेपछि यहाँ वन तथा खोलामा स्काभेटर लगाएर उत्खनन भइरहेको हुन्छ । यहाँ सबैको मिलेमत्तो छ । मेरो एक्लो प्रयासले रोकिँदैन ।” तर, स्थानीयहरूले भने अध्यक्ष तामाङले नै ठेकेदारलाई स्थानीय स्तरमा ग्राभेल तथा माटो उत्खनन गर्न सघाएको आरोप लगाएका छन् ।
सरकारी निकायको प्रतिक्रिया
डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र कुमार मिश्राले भने, “उत्खनन बारे हामी अनुसन्धान गरिरहेका छौँ । प्रहरीले स्काभेटर समाएको भन्ने सुनेको छु । दोषी उम्किनु हुँदैन, यसका लागि सबैको सहयोग आवश्यक छ ।”
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर साहका अनुसार, “सडकमा रहेको ग्राभेल मिलाउने क्रममा स्थानीयले विवाद गरेपछि स्काभेटरको सुरक्षा सुनिश्चित गर्न नगरपालिकाको जिम्मा लगाइएको हो ।” सिरहाको चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित उत्खननले वन तथा प्राकृतिक स्रोतसाधनहरूको दोहनलाई प्रश्रय दिए ।
प्रहरी, वन प्रशासन तथा जनप्रतिनिधिहरूको मिलेमत्तोका कारण दोषीहरू सजिलै उम्कने गरेका छन् । यदि तुरुन्तै कठोर कदम नचालिए, चुरे क्षेत्रको दीर्घकालीन असरले स्थानीय वातावरण तथा भूगोलमा गम्भीर प्रभाव पार्न सक्छ ।




