रौतहट । पूर्व-पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरबाट एक युवकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले सोमबार जारी गरेको सूचनामा श्रेष्ठलाई लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आइतबार जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।
गत शनिबार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरी टोलीले चन्द्रपुर ४, चिडियादल टोलबाट उनलाई पक्राउ गरेको थियो ।
श्रेष्ठको साथबाट डेढ ग्राम खैरो हेरोइन बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले जानकारी दिए ।
पछिल्लो समय जिल्लाको उत्तरी भेग, विशेष गरी चन्द्रपुर नगरपालिका आसपास, युवाहरूमा लागुऔषध सेवनको दुर्व्यसन बढ्दै गएको पाइएको छ । प्रहरी प्रशासनले लागुऔषध नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।




