रौतहट । जिल्ला अदालत रौतहटका एक न्यायाधीशले उचित न्याय नगरेको आरोप लगाउँदै सोमबार स्थानीय पीडितहरुले अदालत अगाडि प्रदर्शन गरेका छन् । कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई सफाइ दिइएको भन्दै यमुनामाई गाउँपालिका ४ का स्थानीय पुरुष तथा महिलाहरुको समूहले जिल्ला न्यायाधीश मनोज केसीविरुद्ध नाराबाजी गरेका हुन् ।
स्थानीय अनुठा गुप्ताका छोरा ५२ वर्षीय राम विनोद गुप्तालाई २०७६ असार ४ गते राति १० बजे गाउँकै एक समूहले गम्भीर रूपमा कुटपिट गरेको थियो । टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज, वीरगञ्जमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो ।
मृतकका बाबु अनुठा गुप्ताका अनुसार किराना पसलमा उधारो सामान नदिएको रिसले विन्देश्वरी सिंह, राम किशोर सिंह, रोहित कुमार सिंह (राजा सिंह), रोशन सिंह, अरविन्द्र कुमार सिंह, बडाबाबु सिंह, रामविनोद सिंह र निखिल कुमार सिंहले मिलेर विनोदलाई कुटपिट गरेका थिए ।
घटनाको छानबिनपछि मृतकका भाई राजन गुप्ता र उनकी श्रीमती अनितादेवीले दिएको जाहेरीको आधारमा ७ अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो । प्रहरीले केही १ वर्षअघि रामकिशोर सिंह र रामविनोद सिंहलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला अदालतमा पेश गरेको थियो । तर, अदालतले तत्काल धरौटीमा छोड्ने आदेश दिएको थियो ।
आईतबार पुन: अदालतमा पेश गरिएका यी दुई अभियुक्तलाई न्यायाधीश मनोज केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो । सोमबार मृतकका भाई राजन गुप्ता, उनकी श्रीमती अनिता देवी तथा समर्थकहरूले जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै न्याय नपाएको गुनासो गरे । उनीहरूले दोषीलाई सफाइ दिएकोमा दुःख व्यक्त गरे ।
यस घटनाका अन्य चार जना अभियुक्त अझै फरार रहेको प्रहरीले जनाएको छ । १३ वर्षीय नाबालक निखिल कुमार सिंहलाई भने सुधार गृह वीरगञ्जमा राखिएपछि अदालतको आदेशअनुसार अभिभावकको जिम्मा लगाइएको छ ।




