काठमाडौं । तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका ७ बाट लु १ ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
करिब २९ लाख ४८ हजार ९५३ रुपैयाँ बराबरको सामानको स्रोत खुलाउन नसकेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको सापकोटाले बताए ।
ट्रकमा हार्डवेयर, आल्मुनियम सिट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन, सब बिलेट, बालनट इन्सेललगायत सामान थिए । सामान र ट्रक मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।




