पर्सा । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका २ स्थित चेरगाहमा रहेको नवगावा माविको ३१ वर्ष पुरानो विद्यालय भवन भत्किएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले २०५१ सालमा निर्माण गरेको चार कोठे भवन मर्मत सम्भार नहुँदा जीर्ण अवस्थामा रहेको थियो ।
निर्माण कार्य अधूरो रहेका कारण उक्त भवनमा झ्याल, ढोका जडान गरिएको थिएन भने प्लास्टरसमेत नभएको प्रधानाध्यापक गगनदेवप्रसाद यादवले बताए । विद्यालयमा थप पाँच ब्लक निर्माण भएपछि मावि तहसम्मको अध्यापन ती नयाँ ब्लकहरूमा हुने गरेको र पुरानो भवन खाली रहेको उनले जानकारी दिए ।
स्थानीयका अनुसार निर्माणका क्रममा कमसल सामग्री प्रयोग गरिनु तथा भवन पूर्ण रूपमा तयार नगरिनु भत्किने प्रमुख कारण हुन् । मंगलबार बिहान पुरानो भवन अचानक भत्किएको थियो । विद्यालयमा हाल ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।




