सिरहा । सिरहाको लहानमा रहेको एक सुनचाँदी पसल लुटपाट गर्ने योजना बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका ८ का ४५ वर्षीय ईन्दर भन्ने ईन्द्रनारायण चौधरी, लहान नगरपालिका २२ का ३१ वर्षीय भैरव भन्ने देवकुमार मुखिया, लहान नगरपालिका ४ का ४१ वर्षीय दिनेश विश्वकर्मा र भारत पश्चिम बंगालको हुगली ग्राम पञ्चायतका निरोज भन्ने मेहराज मोन्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, लहान नगरपालिका ७ बस्ने ४५ वर्षीय विकास कुमार शारदाको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई लहान बजारमा रहेको विकास ट्रेडर्समा डाँका गर्ने योजना बनाएको आरोप लगाइएको छ ।
प्रहरी नायब उपरीक्षक पासवानको कमान्डमा खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो । सिरहा जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




