वीरगंज । पर्साको वीरगंज महानगरपालिका २२ जगरनाथपुरस्थित सडकमा ट्रक र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बुधबार दिउँसो एनएल ०१ डी ७८८८ नम्बरको ट्रक र ना ७ त २७२४ नम्बरको ट्याक्टर ठोक्किँदा ट्याक्टरमा सवार वीरगंज महानगरपालिका २८ बगही टोलका १८ वर्षीय राजाबाबु महतो गम्भीर घाइते भएका थिए ।
उपचारका लागि नारायणी अस्पताल, वीरगंज लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने फरार ट्याक्टर चालकको खोजी जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।




