रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायबाट खटिएको प्रहरी गस्ती टोलीले चेकिङ्गको क्रममा लाखौं मूल्यबराबरको भन्सार छलीको सामानसहित २ जनालाई पक्राउ गरेको छ । गौरबाट चोरी भएको भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल ६ दिनपछि प्रहरीले बरामद गरेको छ ।
विभिन्न सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको ३ लाख ४१ हजार ४८५ रुपैयाँ बराबरको किराना सामान, कपडा, कस्मेटिक, स्पेयर पार्ट्स, भाँडाकुँडा, मोटरसाइकल २ थान र २ जना तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह-प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् ।
बरामद गरिएको सामान, मोटरसाइकलसहित दुवै जना तस्करलाई आवश्यक कारबाहीका लागि शुक्रबार गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । त्यसैगरी, गौर बजार क्षेत्रबाट गत १७ गते चोरी भएको भारतीय नम्बर BR 05 AY 6863 को अपाचे मोटरसाइकल गौर नगरपालिका ८ पुरेनवाबाट प्रहरीले बरामद गरी सम्बन्धित धनीलाई बुझाएको सह-प्रवक्ता उमाशंकर प्रसादद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।




