बारा । बाराको सिम्रौनगढ २ अमृतगंजस्थित रानीवास रामजानकी मन्दिर नजिक प्राचीनकालीन खाँचायुक्त खपडाहरू फेला परेका छन् । सिम्रौनगढ नगरपालिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको स्थल मानिन्छ ।
यहाँ समय समयमा ऐतिहासिक अवशेषहरू भेटिँदै आएका छन् । यसै क्रममा नगरपालिकाको आयोजनामा निर्माण भइरहेको फूल वाटिका (पार्क) निर्माणका क्रममा पुरातात्विक खपडाहरू फेला परेका हुन् ।
प्राप्त विवरण अनुसार फेला परेका खपडाहरूको संख्या करिब २० हजार भएपनि तीमध्ये करिब ४० प्रतिशत जति नष्ट भइसकेका छन् ।
स्थानीयका अनुसार रामजानकी मन्दिर बन्नुअघि सोही स्थानमा काठको मन्दिर रहेको र पछि वि.सं. १९३३ मा जंगबहादुर राणाका छोरा जगतजंगले पक्की मन्दिर निर्माण गराएको इतिहास छ । उनीहरुले भेटिएका खपडाहरू सोही समयका रहेको दाबी गरेका छन् ।




