रौतहट । जिल्लाको प्रमुख व्यापारिक केन्द्र चन्द्रपुर नगरपालिकामा बढ्दै गएको बेथिति हटाउनु पर्ने माग उठिरहेको छ । नगरको सफाइ, यातायात व्यवस्थापन तथा समग्र विकासका विषयमा जनप्रतिनिधिहरूले अपेक्षाअनुसार चासो नदिएको भन्दै स्थानीयवासी असन्तुष्ट छन् ।
नगरवासीहरूका अनुसार नगरपालिकाका मुख्य चोकहरू तथा गौर रोड आसपास बस रोक्ने स्थान अव्यवस्थित बन्दा जनजीवन प्रभावित भएको छ । लामो समयदेखि सुधारको माग गरिएपनि सम्बन्धित निकायले आवश्यक कदम नचालेको गुनासो छ ।
गत निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले नगरको समग्र विकासमा ध्यान दिनुपर्नेमा राजनीतिक खिचातानीमै सीमित रहेको स्थानीयको आरोप छ । उनीहरूले चन्द्रपुर नगरलाई तराईकै नमुना नगरका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
यस समस्याको समाधानका लागि केवल जनप्रतिनिधिहरू मात्र नभई स्थानीय समुदाय र सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । चन्द्रपुर नगरको व्यवस्थित विकासको माग गर्दै स्थानीयहरूले सम्बन्धित निकायलाई चाँडो कदम चाल्न आग्रह गरेका छन् ।




