रौतहट । चन्द्रनिगाहपुर बजार क्षेत्र र महेन्द्र राजमार्गमा ठेला गाडीको बढ्दो संख्याले सडक दुर्घटनाको जोखिम बढाएको छ । सडकमा अनियन्त्रित रूपमा ठेला राखेर व्यापार गर्ने प्रवृत्तिले पैदलयात्री र सवारीसाधन दुबैलाई असहज बनाएको छ ।
स्थानीयले लामो समयदेखि सडक व्यवस्थापनको माग गर्दै आएपनि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गरेका छन् । विशेष गरी चोक तथा मुख्य सडकहरूमा ठेलागाडा अनियन्त्रित रूपमा राखिँदा सवारी आवागमनमा समस्या सिर्जना भएको छ ।
एक जना स्थानीयले भने, ‘सडकमा व्यापार र ठेलागाडी राख्ने क्रम बढेसँगै दुर्घटना हुने सम्भावना उच्च बनेको छ। कुनै गाडी आएपछि मात्रै यी ठेला हटाइन्छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ ।’
यस विषयमा ट्राफिक प्रहरी तथा नगरपालिकाले कुनै ठोस कदम चाल्ने कि नचाल्ने भन्ने विषयमा स्थानीय व्यवसायी र सर्वसाधारणहरूले चासो व्यक्त गरेका छन् । चन्द्रनिगाहपुरलाई व्यवस्थित बनाउन अब स्थानीय प्रशासनले प्रभावकारी कदम चाल्नुपर्ने माग उठ्न थालेको छ ।




