सर्लाही । नयाँरोड-बरहथवा सडक खण्ड अन्तर्गत सर्लाहीको मुर्तिया जंगलमा शनिबार दिउँसो उखु बोकेको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको छ । बरहथवा तर्फबाट उखु लोड गरी हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगतर्फ आउँदै गरेको ना १ त ४६२४ नम्बरको ट्याक्टर मुर्तिया जंगल क्षेत्रमा अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाले जानकारी दिए । ट्याक्टर पल्टिएपछि सडकमा उखु थुप्रिएर यातायात प्रभावित भएको थियो । दुर्घटनापछि एकतर्फी रूपमा सञ्चालनमा आएको नयाँरोड–बरहथवा सडकमा, बरहथवा नगरपालिकाबाट आएको जेसिबीले अवरोध हटाएपछि दुईतर्फी रूपमा यातायात सञ्चालन भएको प्रहरीको भनाइ छ ।
हाल सर्लाहीका उखु किसानहरू आफ्नो उखु धमाधम काटेर चिनी मिलमा पठाइरहेका छन् । ढुवानी खर्च कम गर्न ट्याक्टर र ट्रकमा क्षमताभन्दा बढी उखु लोड गर्ने प्रवृत्तिले यस्ता दुर्घटना बढ्न सक्ने सम्भावना रहेको किसानहरूले बताएका छन् ।




