सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका र हरिपूर्वा नगरपालिकाको सीमामा पर्ने सफा (नख्खा) खोलामा पुलको अभावले स्थानीयलाई गाह्रो पारिरहेको छ । यो खोलाले ब्रह्मपुरी ६, पिपरा र हरिपूर्वा ३, धनकौल गाउँलाई जोड्ने महत्वपूर्ण मार्गको रुपमा सेवा पुर्याउँदै आएको छ ।
वर्षायाममा ह्युम पाइप र कल्भर्ट निर्माण गरिएपनि बाढीले बारम्बार बगाउने गरेको स्थानीयको भनाइ छ । ब्रह्मपुरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ६ लाख ५० हजार रुपैयाँ खर्च गरेर निर्माण गरेको कल्भर्ट गत असोज महिनाको बाढीले बगाएको थियो । असोजको बाढीपछि कल्भर्ट सफा खोलाको बिचभागमा अलपत्र रहेको छ, जसले गर्दा स्थानीयहरूलाई आवागमनमा कठिनाइ भइरहेको छ ।
हरिपूर्वा नगरपालिका क्षेत्रका स्थानीय जनकपुरको मलङ्गवातर्फ जान र ब्रह्मपुरी तथा चन्द्रनगर गाउँपालिकाका स्थानीयहरूले सफा खोलाको बाटो प्रयोग गर्ने गरेका छन् । तर, पुल नहुँदा उनीहरूलाई विभिन्न समस्याहरूको सामना गर्नुपरेको छ, जसमा बाढीको समयमा बाटो अवरुद्ध हुनु र हिउँदयाममा खोला पार गर्दा पानीमा डुबेर ज्यान जोखिममा पर्नु सामेल छन् ।
महतोले गत असोजमा खोला पार गर्दा मोटरसाइकल डुबेर ज्यान बचाएको घटना समेत सुनाए । सफा खोलामा पुल नहुँदा सर्लाहीका आधा दर्जन गाउँ र महोत्तरीका स्थानीयलाई समस्या उत्पन्न भइरहेको छ ।
पुलको अभावले बसन्तपुर, हरिपूर्वा र महोत्तरीका विभिन्न गाउँका स्थानीयलाई सास्ती खेपिरहेको छ । वर्षायाममा बारम्बार ह्युमपाइप र कल्भर्ट बगाइरहेका कारण ब्रह्मपुरी गाउँपालिकाले अब पक्की पुल निर्माण गर्ने पहल थालेको छ ।
पिपरा वडा अध्यक्ष हिरेन्द्रकुमार यादवले पुल निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग पहल गरिरहेको जानकारी दिए । गाउँपालिकाले पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पारिसकेको जनाएको छ । अब ह्युम पाइप र कल्भर्टको सट्टा स्थायी पुल निर्माण गर्ने निष्कर्षमा पुगेको वडाध्यक्ष यादवले बताए ।




