रौतहट । गौर नगरपालिकाले लगातार दोस्रो पटक रौतहट जिल्लाको उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा गौर नगरपालिका ६२.१ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरका अनुसार मेयर शम्भु साहको प्रभावशाली नेतृत्व, कुशल नीति-निर्देशन, कर्मचारीको मिहिनेत र नगरवासीको सक्रिय सहभागिताका कारण नगरपालिका पुन: उत्कृष्ट बन्न सफल भएको हो ।
जिल्लाभित्रको नगरपालिकाको कार्य सम्पादन अवस्था
गौर नगरपालिका – ६२.१ अंक (प्रथम)
ईशनाथ नगरपालिका – ५९.८ अंक (द्वितीय)
गरुडा नगरपालिका – ५७.६ अंक (तृतीय)
राजपुर नगरपालिका – ५६.९ अंक (चौथो)
दुर्गा भगवती गाउँपालिका – ५४.८ अंक (पाँचौं)
मौलापुर नगरपालिका – ५४.४ अंक (छैठौं)
परोहा नगरपालिका – ५२.५ अंक (सातौं)
राजदेवी नगरपालिका – ४५.५ अंक (आठौं)
गढीमाई नगरपालिका – ४४.० अंक (नवौं)
चन्द्रपुर नगरपालिका – ४१.५ अंक (दशौं)
पुछारमा फतुवा बिजयपुर नगरपालिका
यस आर्थिक वर्षको मूल्यांकनमा फतुवा बिजयपुर नगरपालिका ३१.४ अंक मात्र प्राप्त गर्दै जिल्लाको पुछारमा परेको छ । कटहरिया नगरपालिका (३४.६ अंक) र देवाही गोनाही नगरपालिका (३५.० अंक) क्रमश: १७ औं र १६ औं स्थानमा रहेका छन् ।
कार्यसम्पादन मूल्यांकनको महत्व
संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ ।
यस मूल्यांकनले स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउँदै सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्य लिएको आयोगको भनाइ छ । गौर नगरपालिकाको निरन्तर उत्कृष्टताको उपलब्धिले नगरपालिकाको विकास र सेवा प्रवाहलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।




