बारा । मालपोत कार्यालय र नापी कार्यालयका अधिकृतहरू मिलेमतो गरी एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाएर किनबेच गरेको आरोपमा आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थापलियाका अनुसार बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
क-कसलाई लगाइयो मुद्दा ?
अख्तियारले मालपोत कार्यालय बाराका मालपोत अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय बाराका तत्कालीन नापी अधिकृत (हाल अवकाश प्राप्त) दिनानाथ मिश्र, हाल नापी कार्यालय पर्सामा कार्यरत नापी अधिकृत शिव बालक शाह, नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, लेखापढी व्यवसायी जयलाल सहनी तथा जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपती देवी थरुनीविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूले मिलेमतो गरी बाराको साविक डुमरवाना गाविस ६ को क्षेत्रफल ज.बि. ०९१९० भएको जग्गाको श्रेस्ता किर्ते गरी क्षेत्रफल ०९३९१० कायम गरी बिक्री गरेको आरोप छ । त्यसैगरी, क्षेत्रफल ज.बि. ०९२९१० भएको जग्गाको श्रेस्ता किर्ते गरी क्षेत्रफल ०९६९० कायम गरी नापी कार्यालय र मालपोत कार्यालयको मिलेमतोमा नक्कली श्रेस्ता पुर्जा तयार पारेर ठगी गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
जरिवाना र सजायको माग
अख्तियारले सबै अभियुक्तलाई भ्रष्टाचार निवारण ऐनअनुसार जनही एक लाख पचास हजार जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार मालपोत र नापी कार्यालयका कर्मचारीहरूको मिलेमतोमा राज्यलाई ठगेर व्यक्तिको व्यक्तिगत स्वार्थका लागि जग्गा किर्ते गरिएको देखिएको छ । हाल यो मुद्दा विशेष अदालतमा दर्ता भइसकेको छ भने दोषी ठहर भए कानुनी कारबाही हुनेछ ।




