रौतहट । प्रहरी गस्ती टोलीले अवैध सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले शनिबार राति साढे १ बजे चन्द्रपुर नगरपालिका ४ बाट अवैध काठसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० का सनिचर धामी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि दीप कुमार रायले न्युज कारखानालाई बताए ।
उनीहरूको साथबाट चार वटा साइकलमा लोड गरी लुकाईछिपाई चिडया दहबाट चन्द्रनिगाहपुरतर्फ लैजाँदै गरेको अवस्थामा करिब २१ क्युफिट सालको १३ थान चिरान काठ बरामद गरी कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहट पठाइएको प्रहरीले जनाएको छ ।
चाडपर्वको समयमा वन कर्मचारीले गस्ती कम गरेपछि रौतहटमा तस्कर समूहले अबैध रुपमा काठ कटानी तथा ढुवानी तीब्र गतिमा गर्ने गरेको प्रत्यक्षदर्शीले बताउँछन् ।




