धादिङ । आज बिहान करिब २ बजे, आदमघाटबाट गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर जाँदै गरेको बागमती प्रदेश ०१-००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट ५/६ सय मिटर तल खसेको घटनास्थलमा धादिङको गल्छी गाउँपालिका ३ गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा पानी ट्यांकर दुर्घटना भएको छ ।
घटना स्थलमा धादिङ गजुरी गाउँपालिका ६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको घटनास्थलमै मृत्यु भएको छ । साथै, १९ वर्षका सिरिश चेपाङ र १७ वर्षका सुरेश चेपाङ गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
घटना भएपछि इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी निरीक्षक राजु प्रसाद ढकालको नेतृत्वमा ७ जना र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक राजकुमार खड्काको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पठाइएको थियो ।
ट्यांकर चालक २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका प्रारम्भिक अनुमान अनुसार, ट्यांकर ब्याक गर्ने क्रममा सडक साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्छ। घटना बारे थप अनुसन्धान भइरहेको जानकारी गराइएको छ ।




