वीरगञ्ज । तास खेल्ने क्रममा विवाद हुँदा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुन्ना तिवारी रहेका छन् ।
गत आइतबार पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका २८ स्थित भेडाहा खोलामा उदयपुर घुर्मी टोलका १९ वर्षीय इशालप्रसाद कुर्मीको शव फेला परेको थियो । खोज तलासका क्रममा प्रहरी अनुसन्धानले कुर्मीको हत्या भएको खुलासा गरेको हो ।
पीडित कुर्मी फाल्गुन ७ गते वीरगञ्ज काम गर्न भनी घरबाट निस्किएका थिए । तर, उनी घर नफर्किएपछि परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिए । अनुसन्धानका क्रममा कुर्मीले घर छोडेकै दिन छिमेकी साथीहरूसँग तास खेल्ने क्रममा विवाद भएको खुलेको छ ।
प्रहरीले जनाएअनुसार, पक्राउ परेका मुकेश, अरुण र मुन्नाले सापटी लिएको रकम फिर्ता नदिने मनसायका साथ कुर्मीको हत्या गरी शव खोलामा फालेका थिए । पर्साका प्रहरी प्रवक्ता डिएसपी सुवास भट्टका अनुसार, पक्राउ परेका तीनै जनालाई ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।




