धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित दिनेश ठाकुरको घरमा रहेको सरिता जेनरल स्टोरमा विद्युत सर्टका कारण बिहीबार बेलुकी भीषण आगलागी भएको छ ।
नगरपालिका ७ दुर्गा टोल निवासी कृष्णा गुप्ताले सञ्चालन गर्दै आएको उक्त स्टोरमा अचानक आगलागी हुँदा रेडिमेड कपडासहित करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि स्टोरभित्र रहेको अधिकांश सामग्री जलेर नष्ट भइसकेको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ठूलो आर्थिक नोक्सानी भएको पीडित पक्षले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जनाएको छ ।




