सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा निर्माणाधीन सडक तथा नाला निर्माण कार्य सात वर्षमा पाँचौँ पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । कान्छाराम कन्ट्रक्सनले समयमै काम नगर्दा सडकहरू अलपत्र परेका छन्, जसका कारण स्थानीय बासिन्दा धूलो, खाल्डाखुल्डी र दुर्घटनाको जोखिम सामना गर्न बाध्य भएका छन् ।
पटक–पटक म्याद थप, काम अझै अधुरो
राजविराजस्थित सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत कान्छाराम कन्ट्रक्सनले ८१ करोड ३६ लाख ८६ हजार ३ सय ५६ रुपैयाँ ६५ पैसा बराबरका दुई ठेक्का लिएको थियो । तर सात वर्षमा पाँच पटक म्याद थप हुँदा पनि ६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
पहिलो ठेक्काको अवस्था
डाँफे-कान्छाराम, देव एन्ड सायर जेभी मैजुबहाल, काठमाडौंले ३९ करोड ७३ हजार ९ सय २६ रुपैयाँ बराबरको ठेक्का २०७४ पुस १६ मा पाएको थियो । तर पटक पटक म्याद थप भएपनि हालसम्म काम सकिएको छैन ।
– म्याद थप विवरण
१. पहिलोपटक – २०७७ पुस १६ देखि २०७८ असार १५
२. दोस्रोपटक – २०७८ असार १६ देखि २०७८ चैत २५
३. तेस्रोपटक – २०७८ चैत २६ देखि २०७९ चैत २५
४. चौथोपटक – २०७९ चैत २६ देखि २०८२ असार २२
हालसम्म ६० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाका प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिएका छन् ।
दोस्रो ठेक्काको अवस्था
कान्छाराम-डाँफे जेभीले ४२ करोड ३६ लाख १२ हजार ४ सय २९ रुपैयाँमा अर्को ठेक्का लिएको थियो । २०७५ माघ २१ मा सम्झौता भएको भएपनि २०७७ साउन २१ भित्र सक्नुपर्ने काम अझै अधुरो छ ।
– म्याद थप विवरण
१. पहिलोपटक – २०७७ साउन २१ देखि २०७७ पुस ५
२. दोस्रोपटक – २०७७ पुस ६ देखि २०७८ असार ५
३. तेस्रोपटक – २०७८ असार ६ देखि २०७८ चैत ३०
४. चौथोपटक – २०७९ वैशाख १ देखि २०७९ चैत ३०
५. पाँचौँपटक – २०८० वैशाख १ देखि २०८२ असार ३०
हालसम्म २० करोड ७१ लाख ९६ हजार २ सय ७७ रुपैयाँ भुक्तानी भइसकेको भए पनि निर्माण कार्य रोकिएको छ ।
नगर अस्तव्यस्त, जनतालाई सास्ती
नगरका विभिन्न वडामा निर्माणाधीन सडक र नालाहरू खनेर छोडिएकाले स्थानीय बासिन्दाले धूलो, खाल्डाखुल्डीका कारण आवतजावतमा कठिनाइ झेलिरहेका छन् । राजविराज नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष जयनारायण मण्डलले ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगर्दा दुर्घटनाको जोखिम र प्रदूषण बढेको बताए ।
ठेकेदार कम्पनीको उदासीनता
सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख साहका अनुसार कान्छाराम कन्ट्रक्सनका सञ्चालक पूर्णबहादुर तामाङ संघीय सरकारमा मन्त्री भएपछि ठेक्काको जिम्मेवारी दीपक थिङलाई हस्तान्तरण गरिएको छ । तर विगत एक वर्षदेखि ठेक्काको काम रोकिएको छ । यता, राजविराज बसपार्क र हटिया कम्प्लेक्सको निर्माण कार्य भने आगामी चैतसम्म सम्पन्न हुने आयोजक प्रमुख साहले बताए ।
सात वर्षसम्म पटक–पटक म्याद थप्दा पनि निर्माण कार्य पूरा नभएपछि स्थानीय जनताले गुनासो गर्दै आएका छन् । ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगरेपछि सडक तथा नाला निर्माण अलपत्र परेको छ । राज्यले निर्माण कम्पनीलाई आवश्यक कारबाही गरी तोकिएको म्यादभित्र कार्य सम्पन्न गराउनेतर्फ पहल गर्नुपर्ने स्थानीयको माग छ ।




