वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकास्थित एक सरकारी विद्यालयका करिब २० जना विद्यार्थी अचानक बेहोस भएका छन् । श्री नेपाल माध्यमिक विद्यालयका विद्यार्थीहरू सोमबार बिहानको प्रार्थना सकेको एक घण्टा नबित्दै बेहोस भएका हुन् ।
कालिकामाई गाउँपालिका अध्यक्ष वशिष्टकुमार गुप्ताका अनुसार सुरुमा एक विद्यार्थी बेहोस भएपनि केहीबेर मै अन्य विद्यार्थीहरू पनि क्रमशः बेहोस हुन थालेका थिए ।
बेहोस भएकामध्ये एक विद्यार्थीको अवस्था गम्भीर रहेको र उनलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेको गुप्ताले जानकारी दिए । बाँकी विद्यार्थीको भने पोखरिया अस्पताल र सदरमुकामका अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।
चिकित्सकहरूका अनुसार विद्यार्थीहरू ‘मास हिस्ट्रेरिया’ नामक मानसिक प्रभावका कारण बेहोस भएको आशंका गरिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




