महोत्तरी । महोत्तरी जिल्लामा सोमबार दिउँसो भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पहिलो घटना बर्दिबास नगरपालिका ६ बंगलामुखी क्रसर छेउस्थित सडकमा भएको हो ।
म प्र ०२-००८ प १०८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २२ वर्षीय बिमल विकको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि न्यूरो अस्पताल जनकपुर लगिएको थियो, जहाँ उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, दोस्रो दुर्घटना पिपरा गाउँपालिका ६ छोटका पोखरीस्थित सडकमा भएको हो ।
रतौलीबाट रतनपुरतर्फ जाँदै गरेको ज.उ.म.न.पा.१ ख ०१०७७ नम्बरको ई-रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय रवीशंकर ठाकुरको ज्यान गएको हो ।
गम्भीर घाइते भएका उनलाई प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको छ ।




