सिरहा । आगामी चैत्र ७ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा केन्द्र मिलाउन समन्वय इकाई सिरहाका कर्मचारीले निजि विद्यालय संघबाट अतिरिक्त रकम असुली गरेको खुलासा भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकै निर्देशनमा परीक्षा शाखा प्रमुख विशाल साह कानुले निजी विद्यालयहरूसँग पायक पर्ने स्थानमा परीक्षा केन्द्र मिलाई दिने भन्दै व्यापक रकम असुलेको कुरा बाहिर आएको हो ।
शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखा प्रमुख साह कानुले संस्थागत विद्यालयहरूसँग १५ जना भन्दा कम विद्यार्थी भएका विद्यालयबाट प्रति विद्यार्थी एक हजार रुपैयाँ र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयहरूसँग प्रत्येक विद्यार्थीबाट पाँच सय रुपैयाँको दरले रकम असुलेको निजी विद्यालयका संस्थापकहरू बताउँछन् ।
सिरहाका एक संस्थागत विद्यालयका संस्थापकले भने, “मैले भनेकै ठाँउमा परीक्षा केन्द्र मिलाई दिन्छु भनेर ८५ जना विद्यार्थीको लागि ४५ हजार रुपैयाँ दिएको थिएँ ।”
उनले भने, “विशाल सरलाई रकम दिएको तर परीक्षा केन्द्र निर्धारणमा धोका भयो । यदि रकम फिर्ता नगरे भने म पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्नेछु ।”
अर्का एक निजी विद्यालयका संस्थापकले भने, “शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारीहरू सधैं ब्राह्मलुट नै मचाउँछन् ।” उनले थपे, “सिरहामा जो आएपनि कानै चिरेको कथा जस्तै बनेको छ; सिरहाको शिक्षा समन्वय इकाई । घुस बिना काम नगरेपछि विद्यालयहरूले पनि विद्यार्थीहरूबाट बढी रकम लिने गरेका छन् ।”
आज सार्वजनिक गरिएको परीक्षा केन्द्रहरू मध्ये गोलबजार नगरपालिकामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । यस नगरपालिकामा ७ सामुदायिक र १४ संस्थागत विद्यालयका करिब ९ सय ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
यस पालिकामा परीक्षा केन्द्रको स्थान पर्याप्त रहेको भएता पनि, संस्थागत विद्यालय र इकाई कर्मचारीलाई आर्थिक प्रभावमा पारेर पालिका बाहिरका परीक्षा केन्द्रमा पठाइएको छ । यसले परीक्षा केन्द्र निर्धारण प्रक्रियामा आर्थिक चलखेल भएको पुष्टि गर्ने आधार बनाएको छ ।
गोलबजार मात्र होइन, लहान, मिर्चैया, धनगढी, सिरहाका नाम चलेका निजी विद्यालयहरूले आफूले चाहेको स्थानमा परीक्षा केन्द्र पाएका छन्, जसले यो प्रक्रिया झल्काउँछ कि परीक्षा केन्द्र निर्धारणमा भ्रष्टाचार भएको छ ।
यसै विषयमा शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दीपक कलौनी र परीक्षा शाखा प्रमुख विशाल साहलाई सम्पर्क गर्दा, दुवै जनाको मोबाइल नम्बर स्विच अफ गरिएको थियो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सिरहाबाट १० हजार सात सय तीन जना विद्यार्थी सहभागी हुनेछन् । सामुदायिक ९५ र संस्थागत ९३ वटासहित १८८ विद्यालय परीक्षामा सामेल हुने जानकारी समन्वय इकाई सिरहाले दिएको छ ।
परीक्षालाई व्यवस्थित, मर्यादित र परीक्षार्थीलाई सहुलियत हुने गरी ४९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्ष ४३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष प्राविधिक धारका लागि छुट्टै एउटा परीक्षा केन्द्र सहित ६ वटा केन्द्र थपिएको समन्वय इकाईले जनाएको छ ।




