सप्तरी । सप्तरी प्रहरीले लागूऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ । प्रहरीले राजविराज नगरपालिका ९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर २ हजार ४५१.५ किलो गाँजा बरामद गरेको छ ।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार फागुन १९ गते बिहान १० बजे साहको गोदाममा छापा मारी गाँजा बरामद गरेको हो । यस क्रममा उक्त गोदाममा बस्दै आएका भारत बिहार राज्य मधुवनी ग्राम पञ्चायत कुकुरदौरा १० का ६६ वर्षीय रामनारायण यादव पक्राउ परेका छन् ।
यादव उक्त घरमा भाडामा बस्दै आएका थिए । उनलाई २१ गते दिउँसो ४ बजे गोदाम घर अगाडिबाट पक्राउ गरिएको खतिवडाले बताए । सप्तरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी गाँजा ओसारपसार तथा भण्डारण बारे जानकारी दिएको हो ।
प्रहरी उपरीक्षक खतिवडाले यादवले भारत तस्करी गर्ने प्रयोजनका लागि गाँजा भण्डारण गरेर राखेको बताए । ‘उनले कहाँबाट यति ठूलो परिमाणमा गाँजा जम्मा पारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘यो गाँजा भारतमा तस्करीका लागि राखिएको भन्ने हामीले बुझेका छौं ।’




