जनकपुरधाम । आगामी चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मधेस प्रदेशबाट ८८ हजार ८५८ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार १ हजार २३१ वटा विद्यालयका विद्यार्थीहरूले प्रदेशभर ३१२ वटा परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् ।
निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालका अनुसार यो वर्ष सबैभन्दा बढी विद्यार्थी धनुषा जिल्लाबाट परीक्षा दिनेछन् । धनुषाका १९५ विद्यालयका १३ हजार ६५४ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् । त्यस्तै, सप्तरीबाट सबैभन्दा कम १४२ विद्यालयका ८ हजार ७१५ विद्यार्थी परीक्षा दिनेछन् ।
चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि ४ हजार ६८० सुरक्षाकर्मी परिचालन गरिनेछ । यसका साथै १२ हजार २४२ जना कर्मचारी परीक्षा व्यवस्थापनमा खटाइने शिक्षा विकास निर्देशनालयले जनाएको छ । यस वर्ष मधेस प्रदेशमा परीक्षा केन्द्रको निर्धारण यस प्रकार गरिएको छ;
– सिरहा :– ४९
– धनुषा :– ४५
– बारा :– ४२
– रौतहट :– ४०
– सर्लाही :– ३८
– सप्तरी :– ३७
– महोत्तरी :– ३२
– पर्सा :– २९
परीक्षा सञ्चालनका लागि ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० जना निरीक्षक, ७५५ जना परीक्षा सहायक तथा १ हजार ६६६ जना कार्यालय सहयोगी खटाइने निर्देशनालयले जनाएको छ ।




