सिरहा । सिरहाको नरहा गाउँपालिका ३ का वडाध्यक्ष रुस्तम अन्सारीले भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको खुलासा भएको छ । सिरहा क्षेत्र नम्बर २ का सांसद एवम् सोही स्थानीय तहका प्रतिनिधि राजकिशोर यादवले प्रतिनिधिसभा बैठकमा यो विषय उठाएपछि घटना सार्वजनिक भएको हो ।
भारत बिहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले वडाध्यक्ष अन्सारीको सिफारिसमा नेपाली नागरिकता प्राप्त गरेका थिए । उनले २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका थिए ।
नागरिकता पाउनका लागि नरहा ३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई बुबाआमा देखाएर वडाध्यक्ष अन्सारीले सनाखत गराएको उजुरीमा उल्लेख छ ।
यो प्रकरण सार्वजनिक भएपछि प्रशासनिक र राजनीतिक तहमा तरंग उत्पन्न भएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको र दोषी प्रमाणित भए कारबाही हुने प्रशासनले जनाएको छ ।




