सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ५, हरकठवा गाउँमा ब्रह्म स्थानमा पूजा गर्ने विषयलाई लिएर दुई समुदाय बीच विवाद भएको छ । विवाह उत्सवमा ब्रह्म स्थानमा पूजा गर्न जान लागेको समयमा दलित समुदाय र तेली समुदायका युवाहरू बीच झडप भएको हो ।
घटना रातिको समयमा भएको थियो, जब मञ्जु देवीको छोरा, सुशिल पासवानको विवाह उत्सवमा पूजा गर्ने क्रममा तेली समुदायका युवाहरूले पूजा सम्पन्न गरिसकेपछि पासवान समुदायका सदस्य पूजा गर्न जान लागेको थिए ।
पूजा अघि बढाउन नदिएको विषयमा विवाद उत्पन्न भएको थियो । एक घन्टा होल्डमा बसेर घोडामा फोटो खिच्दै गर्दा तेली समुदायका युवाले हस्तक्षेप गरेपछि झडप भएको जानकारी प्राप्त भएको छ ।
यस झडपमा पासवान समुदायका मुकेश पासवान, नरेन्द्र पासवान, रामेश पासवान, र कमलेश पासवान घाइते भएका छन् । उनीहरूको शरीरमा कुटपिटका निसानहरू देखिएका छन्, तर उनीहरूको अवस्था सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ ।
त्यसैगरी, विवाहको जन्ती चक्रघटा गाउँपालिकाको गोहियाही गाउँ हुँदै औरही जान लागेको थियो । यस क्रममा वडाध्यक्ष गजेन्द्र महतो चढेको गाडीमाथि आक्रमण भएको छ ।
पासवान समुदायको जन्ती र तेली समुदायको जन्ती एउटै स्थानमा उपस्थित हुँदा वडाध्यक्ष महतोले बाटो सोध्दा, तेली समुदायका २०/२५ जनाको समूहले गाडीमाथि आक्रमण गरेको आरोप लगाइएको छ ।
आक्रमणमा गाडीको फ्रन्ट सिसा सामान्य रूपमा क्षतिग्रस्त भएको र ह्यान्डल लक टुटेको बताइएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।




