सप्तरी । सप्तरी जिल्लाको राजविराज नगरपालिका ७ स्थित सिरहा रोडमा बुधबार साँझ भएको छुरा प्रहारबाट दुई युवक घाइते भएका छन् । सिरहा रोडस्थित सखडा मोडदेखि पश्चिमतर्फ युवाहरूको समूहबीच विवाद भएपछि झडप हुँदै छुरा हानाहान भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार छुरा प्रहारबाट डाकनेश्वरी नगरपालिका ७ का २४ वर्षीय सुनिल यादव र महदेवा गाउँपालिका ४ का २५ वर्षीय सुभाष यादव घाइते भएका छन् ।
छुरा प्रहारबाट सुभाष यादवको ढाड र कोखामा गहिरो चोट लागेको छ, जसका कारण उनको अवस्था गम्भीर रहेको बताइएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ भने अन्य संलग्नहरूको खोजी भइरहेको एसपी खतिवडाले जानकारी दिए ।
छुरा प्रहारबाट घाइते दुबै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।




