बारा । बाराका विभिन्न स्थानमा बिहीबार विद्युत सर्टका कारण भएको आगलागीबाट लाखौँ रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । महागढीमाई नगरपालिका १, कचरिया टोलका ३८ वर्षीय श्यामलाल लहेराको घरमा विद्युत सर्ट भई आगलागी हुँदा नगद, फर्निचरसहित करिब ७६ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
त्यसैगरी, निजगढ नगरपालिका ६, सडक टोलका बच्चु राम घिमिरेको घरमा विद्युत सर्टका कारण आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको छ । आगो फैलिएर सोही ठाउँका गोविन्द बजगाईंको घरमा समेत आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै, कलैया उपमहानगरपालिका ६, पर्सा टोल निवासी ५० वर्षीय जगतनारायण पण्डितको कच्ची घरमा बिहीबार राति विद्युत सर्ट भएर आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीका अनुसार, आगलागी नियन्त्रणका लागि स्थानीयबासी, प्रहरी र दमकलको सहयोग लिइएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ठूलो परिमाणमा आर्थिक क्षति भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




