वीरगञ्ज । औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्जमा लामखुट्टेको अत्यधिक वृद्धि भएपछि स्थानीय बासिन्दा हैरान भएका छन् । गर्मी मौसम सुरु भएसँगै बिहान र साँझको समयमा लामखुट्टेको टोकाइले सर्वसाधारणलाई सास्ती भइरहेको छ ।
होली पर्वका कारण सरसफाइ कर्मचारीहरू बिदामा रहेका कारण फोहोर व्यवस्थापनमा ढिलाइ भयो, जसले लामखुट्टेको संख्या झन् बढाएको स्थानीयले बताएका छन् ।
वीरगञ्ज महानगरका विभिन्न वडामा लामखुट्टेको समस्या बढेपनि महानगरले नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचालेको भन्दै स्थानीयहरू आक्रोशित छन् ।
लामखुट्टेबाट फैलिने डेङ्गीजस्ता रोगको जोखिम समेत बढेकाले वीरगञ्ज महानगरले ३२ वटै वडामा लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँका अनुसार आइतबारदेखि विशेष कार्यतालिका बनाएर पम्प तथा एअर स्प्रे कार्यक्रम सञ्चालन गरिने छ ।
महानगरले गत फागुन २५ गते नै लामखुट्टे नियन्त्रणको कार्ययोजना सार्वजनिक गरेको थियो । यो अभियान चैत ३ गतेदेखि सुरु भई चैत २४ गतेसम्म सञ्चालन गरिने बताइएको छ ।




