सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका स्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा सुविधा लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बुढाथोकीले रौतहटको महेन्द्र माध्यमिक विद्यालय, चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतीय पदका लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा जारी गरिएको नक्कली प्रवीणता प्रमाणपत्र तहको लब्धांक पत्र पेश गरेका थिए ।
अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएपछि आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ तथा हालको भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कानुनी कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
बुढाथोकीले नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पद प्राप्त गर्दै राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि अख्तियारले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको छ ।




