सिरहा । सिरहामा करिव २५ वर्षदेखि सानो छाप्रोमा बस्दै आएका एक मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठीवास गराएका छन् । पुर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही गाँउपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मलिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापित गरेका हुन् ।
विगत लामौ समयदेखि सडक किनारमा बस्दै आएका दिपक मलिक (डोम) बस्ने नयाँ छाप्रो ठडीएको छ । त्यहि छाप्रो पनि दुई वटा कोठामा विभाजन गरिएको छ । कोठाका दुवै दैलोमा भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टासिएका छन् । तर, उनको आस्थाका भगवानले उनलाई कहिल्यै रक्षा गर्न सकेन ।
उनका परिवारले पनि आस्थाका साथ मानिरहेका भगवानहरुको नाममा यहि चैत १७ गतेदेखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ । दिपक त्यहि महायज्ञ स्थल नजीकै एउटा कुनामा सानो छाप्रोमा बस्दै आएका थिए ।
महायज्ञ लगाउने ठाँउ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काई दिए ।
आयोजकले मलिकको घर मात्र भत्काएनन् अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ । थातथलो भत्काएर मलिक परिवारलाई बिस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिव २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ ।
त्यहि घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दिपक श्रीमान श्रीमतीसहित सात जनाको परिवार बस्दै आएको थियो । विगत २५ वर्षदेखि मलिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्षअघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो ।
घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि मलिक परिवार विचल्लिमा परेका छन् । छाप्रो निर्माण भएपनि उनीसँग पानीको स्रोत छैन, विजुली बलिरहेको छैन । अनिताले भनिन, ‘घर पनि हाम्रै काठ पात र थोत्रो जस्ता हालेर ठ¥याइ दिएका छन् ।’
दिपकका श्रीमती अनिता मलिकले भनिन, ‘वर्षौंदेखि बस्दै आएको ठाउँबाट अहिले यहाँ सरिदिएको छ । साना नानीहरुसहित यहाँ बसिरहेको छु । विजुली छैन । पानी छैन । गाउँबाट पानी माँगेर एक महिनादेखि गुजारा गरिरहेको छु । विजुली नभएकाले दिउँसै खाना पकाएर खानुपर्ने बाध्यता छ । कष्टपूर्ण तवरले बाचिरहेको छु ।’
पुनारनो बासस्थानबाट तिमीहरु हट्नुपर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मलिकले बताइन् । यज्ञ लगाउने नाममा हामीलाई त्यहाँबाट हट्नुपर्छ भनेका थिए । तर, हामी श्रीमान श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काईयो । हामी निरीहले के प्रतिकार गर्न सक्नु ।’
दीपक र अनिता मरिकको १७ वर्षिय छोरा अर्जुन र नवविवाहित बुहारी, १३ वर्षकी छोरी किरण कुमारी, १० वर्षकी छोरी प्रीती र ८ वर्षिय छोरा आकाश मरिकसहितको ७ जनाको जहान छ ।
यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मलिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे । उनले भने- ‘त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको छ । त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ ।’ त्यसकारण भत्काएको जिकिर गरे ।
यता विभिन्न अनलाइन मिडियाहरुमा समाचार सम्प्रेशन पश्चात आज स्थलगत निरिक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पडिंतले तत्काललाई यो महायज्ञ रोक्न निर्देशन दिएको छ । उनले भने, ‘यो महायज्ञ विवादित भयो । अहिले तत्काललाई महायज्ञ रोक्न केन्द्रबाट नै निर्देशन आएको छ ।’
महायज्ञका पुजारी बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध गरेको दलित अधिकारकर्मीहरु बताउँछन् । दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव माथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन् । यो घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनाको छानविन गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।




