सिरहा । सिरहा जिल्लाको औरही गाउँपालिका ५ मा महायज्ञका नाममा दलित दीपक मलिकको घर डोजर लगाएर भत्काइ उठीबास गराउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् ।
घटना बारे समाचार सार्वजनिक भएपछि बिहीबारदेखि सम्पर्कविहीन रहेका अध्यक्ष यादव शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
तर, अछूत भन्दै दलित परिवारको घर भत्काउन निर्देशन दिने आयोजक बजरंगी बाबा भने अझै पक्राउ परेका छैनन् । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार पक्राउ परेका दुवै व्यक्तिसँग प्रारम्भिक बयान लिइसकिएको छ भने शनिबार पीडित परिवारबाट जाहेरी लिएर थप अनुसन्धान अघि बढाइनेछ ।
दलित परिवारको घर भत्काइयो
आगामी चैत १७ गते हुने भनिएको महायज्ञका लागि बनाइँदै गरेको मण्डपनजिकै मलिकको घर थियो । ३० वर्षदेखि बस्दै आएको उक्त दलित परिवारको घर ५ वर्षअघि जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएको थियो । आयोजक बजरंगी बाबाको आग्रहमा गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष यादवको निर्देशनमा फागुन १० गते मलिकको घरमा डोजर लगाइएको थियो ।
घर मात्र भत्काइएन, अछूत हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको थियो । घटना बारे समाचार बाहिरिएपछि दोषीमाथि कारबाहीको माग चुलिएको छ । संघीय संसद र मधेश प्रदेशसभाका सांसदहरूले संसदीय छानबिनसहित दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् । विभिन्न संघ संस्थाले घटनाको निन्दा गर्दै दोषीलाई दण्डित गर्नुपर्ने माग गरेका छन् ।
पीडित परिवारमाथि निरन्तर दबाब
प्रहरीले पीडित परिवारले उजुरी नदिएको बहाना बनाएर कारबाही नगर्ने प्रयास गरेको भएपनि सर्वत्र आलोचना भएपछि शुक्रबार मात्र दोषीहरूलाई नियन्त्रणमा लिइएको हो । पीडित परिवारले धम्कीका कारण उजुरी दिन नसकेको स्थानीयहरूले बताएका छन् । उनीहरूलाई निगरानीमा राख्दै पीडकहरू जथाभावी धम्की दिइरहेका छन् ।
बजारंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष यादवले पीडित मलिकको झुपडीमा पुगेर जबर्जस्ती कागज गराएका थिए, जसमा मलिक परिवारले स्वेच्छाले घर छाडेको उल्लेख गरिएको छ । त्यसपछि उनीहरूलाई महायज्ञस्थल छेउकै सरकारी भवनमा सारेर जबर्जस्ती भिडियो खिच्न लगाइएको थियो ।
पीडित परिवारको पुन: र्स्थापनाको माग
गाउँपालिका अध्यक्ष यादव पक्राउ परेपछि पीडित परिवारले आफूहरूलाई पुरानै स्थानमा पुनः स्थापना गर्न माग गरेका छन् । ‘हामी कमजोर छौं, त्यसैले केही गर्न सकेनौं,’ दीपक मलिकले भने, ‘अब पुरानै ठाउँमा फर्काइदिए हुन्थ्यो ।’
हाल मलिक परिवारलाई ५ सय मिटर पर खोलाछेउको एकान्तमा सारिएको छ, जहाँ न खानेपानी छ, न बिजुली । दीपक र उनकी पत्नी अनिता गाउँपालिकामा सफाइ कर्मचारीका रूपमा कार्यरत भएपनि घटनापछि उनीहरू काममा जान सकिरहेका छैनन् ।
प्रशासन र आयोगहरूको चासो
घटनामा प्रशासनको उदासिनता देखिएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई फिर्ता बोलाएको छ । साथै, प्रहरीलाई गम्भीरताका साथ अनुसन्धान गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेश कार्यालयले घटना प्रति चासो राख्दै अनुगमन र अनुसन्धान अघि बढाइसकेको जनाएको छ । आयोगका प्रदेश प्रमुख बुद्धनारायण सहनीका अनुसार घटना बारे जानकारी लिन सम्बन्धित निकायहरूलाई पत्राचार गरिएको छ ।
राष्ट्रिय दलित आयोगले पनि घटनाका दोषीमाथि कानुनी कारबाहीको माग गर्दै सिरहा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको छ ।




