धनुषा । ससुराली हिँडेका एक युवकको हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो । उनको शव गौशाला नगरपालिका ८ स्थित सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो ।
शव शुक्रबार साँझ फेला परेपनि उनको सनाखत भने शनिबार मात्र भएको थियो । शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान छ । हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ । शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगरका लागि निस्केका थिए ।




